१.१ पृष्ठभूमि
मंगलसेन नगरपालिका सुदूरपश्चिम प्रदेश अन्तर्गत अछाम जिल्लामा अवस्थित एक ऐतिहासिक, धार्मिक तथा प्रशासनिक महत्वको स्थानीय तह हो। नेपालको संविधान, २०७२ बमोजिम स्थानीय तह पुनःसंरचनापछि वि.सं. २०७३ सालमा साविकका विभिन्न गाउँ विकास समितिहरूलाई समायोजन गरी यस नगरपालिकाको स्थापना गरिएको हो। नगरपालिकाको प्रशासनिक केन्द्र मंगलसेन बजारमा रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नगरपालिकाको कुल जनसंख्या ३१,९५७ रहेको छ भने क्षेत्रफल २२०.१४ वर्ग किलोमिटर रहेको छ। नगरपालिकालाई १४ वटा वडामा विभाजन गरिएको छ। मंगलसेन नगरपालिका प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा, सांस्कृतिक विविधता तथा सामाजिक सद्भावले सम्पन्न नगर हो। कृषि, पशुपालन, व्यापार, सेवा तथा पर्यटन यहाँको अर्थतन्त्रका प्रमुख आधार हुन्। सूचना प्रविधिमा आधारित सेवा प्रवाह, सुशासन, दिगो विकास तथा नागरिक सहभागितालाई प्राथमिकतामा राख्दै नगरपालिकाले समृद्ध र आधुनिक नगर निर्माणतर्फ निरन्तर कार्य गरिरहेको छ।

